मनाङको चामेमा पहिरोले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता
मनाङको चामेमा पहिरो खस्दा मर्स्याङ्दी नदी थुनिएको छ। आइतबार स्थानीय ठाडो खोलाबाट लेदोसहितको पहिरो खसेपछि नदी थुनिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार पहिरोले नदीको बहाव रोकिएपछि मर्स्याङ्दीमा ताल बन्न थालेको छ।
नदी थुनिएसँगै पानीको सतह बढ्न थालेपछि स्थानीय क्षेत्रमा सतर्कता अपनाइएको छ। स्थानीयका अनुसार मर्स्याङ्दी नदीमा साइरन बज्न थालेको छ।
नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायले अवस्थाको निगरानी गरिरहेका छन्। नदीमा बनेको तालको अवस्था र पहिरोका कारण उत्पन्न जोखिमबारे थप विवरण आउन बाँकी छ।