कालीगण्डकीको बाढीले मालढुंगाको माझी बस्ती बगायो
कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका–१, मालढुंगास्थित माझी बस्तीमा क्षति पुर्याएको छ। गण्डकी नदी किनारमा रहेको बस्तीमा आइतबार बिहान बाढी पसेको हो।
बाढीले स्थानीयले बसोबासका लागि प्रयोग गर्दै आएका आधा दर्जनभन्दा बढी टहरा, बङ्गुर फार्मलगायतका संरचना बगाएको छ। बाढी बस्तीमै पसे पनि मानवीय क्षति भने भएको छैन।
आइतबार बिहान अचानक बाढी बस्तीमा पसेपछि स्थानीय भागेर सुरक्षित स्थानमा पुगेका थिए। तीन दिनदेखि लगातार वर्षा भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै माइकिङसमेत गरिरहेको थियो।
कालीगण्डकी नदीमा पानीको बहाव बढ्दै गएपछि नदी किनारका बस्तीमा जोखिम थपिएको छ। बाढीबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ।
लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले मालढुंगालगायत नदी किनारका क्षेत्रमा जोखिम बढाएपछि स्थानीय प्रशासन र सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्।