नारायणी पुलमुनि क्रुजसिप अड्किएपछि आवतजावत पूर्ण रूपमा बन्द
बाढीले बगाएको क्रुजसिप नारायणी पुलमुनि अड्किएपछि पुलमा आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। चितवनको भरतपुर र नवलपुरको गैँडाकोट जोड्ने नारायणी पुलमा आवतजावत बन्द भएपछि पूर्व–पश्चिम राजमार्गको सवारी आवागमन प्रभावित भएको छ।
पुलभन्दा करिब १०० मिटर माथि बाँधेर राखिएको क्रुजसिप आइतबार अपराह्न करिब ५ः३० बजेतिर बाढीले बगाएको थियो। बाढीले बगाएको क्रुजसिप पुलमुनि पुगेर अड्किएको हो।
क्रुजसिप पुलमुनि अड्किएपछि पुलको संरचनामा थप जोखिम उत्पन्न हुन सक्ने भन्दै सुरक्षाका लागि आवतजावत बन्द गरिएको हो। पुल बन्द भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।
नारायणी नदीमा पानीको बहाव उच्च रहेका कारण पुलमुनि अड्किएको क्रुजसिप तत्काल हटाउन चुनौती देखिएको छ। घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरी अवस्था निगरानी भइरहेको छ। क्रुजसिप हटाएर पुललाई सुरक्षित बनाएपछि मात्रै आवतजावत खुलाउने तयारी गरिएको छ।