भेनेजुएलामा भूकम्पको विनाश : मृतक संख्या चार हजार नाघ्यो
काठमाडौं — भेनेजुएलामा गत जुन २४ मा आएको दोहोरो शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या चार हजार नाघेको छ। भेनेजुएला सरकारले हालसम्म कम्तीमा चार हजार ११८ जनाको मृत्यु पुष्टि गरेको छ भने १६ हजार ७४० जना घाइते भएका छन्।
भेनेजुएलाका संसद् प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राममार्फत तटीय राज्य ला गुइराका सबै जिल्लाहरू भूकम्पबाट प्रभावित भएको जानकारी दिएका छन्। उनका अनुसार हजारौँ मानिस अझै बेपत्ता रहेकाले खोजी तथा उद्धार कार्य जारी छ।
उद्धार टोलीहरूले भग्नावशेषमा जीवित व्यक्ति भेटिने सम्भावना अत्यन्त न्यून रहेको जनाए पनि परिवारका सदस्यहरू आफ्ना आफन्तको शव फेला पारेर सम्मानजनक अन्त्येष्टि गर्न आशामा खोजी कार्यमा जुटिरहेका छन्।
लामो समयदेखि आर्थिक संकट झेलिरहेको भेनेजुएलामा कमजोर राज्य सेवाका कारण राहत तथा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको बताइएको छ।
यसैबीच, संयुक्त राष्ट्र सङ्घले भूकम्पपीडितका लागि राहत तथा मानवीय सहायता उपलब्ध गराउन करिब ३० करोड अमेरिकी डलरको तत्काल सहयोग अपिल गरेको छ। भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले पनि विदेशमा रोक्का (फ्रिज) गरिएका राष्ट्रिय सम्पत्ति फिर्ता गरी राहत तथा पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।