ट्रमा सेवा विस्तार र उपचार प्रणाली सुधार गर्ने बागमती सरकारको प्रतिबद्धता
नेपाल यातायात व्यावसायिक राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष सरोज सिटौलाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको छलफलमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक यातायात क्षेत्रका समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
उनले दुर्घटनामा मृत्यु हुनेका परिवारलाई उचित क्षतिपूर्ति सुनिश्चित गर्ने, घाइतेको उपचारलाई सहज बनाउने तथा सरकारी अस्पतालमै प्राथमिक उपचार सुनिश्चित गर्न आवश्यक कानुनी र नीतिगत पहल गरिने जानकारी दिए। सम्बन्धित निकाय र यातायात व्यवसायीसँग समन्वय गरेर आवश्यक सुधार अघि बढाइने उनको भनाइ थियो।
भेटका क्रममा महासङ्घले विशेषगरी काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम, दुर्घटनापछिको उपचार प्रणाली तथा क्षतिपूर्ति वितरण प्रक्रियामा देखिएका समस्याबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो।
महासङ्घका अध्यक्ष सिटौलाले हालको बिमा व्यवस्थाअनुसार घाइतेको उपचार खर्च अधिकतम तीन लाख रुपैयाँसम्म मात्र उपलब्ध हुने भएकाले महँगा निजी अस्पतालमा उपचार गर्दा व्यवसायी र पीडित दुवै आर्थिक भारमा पर्ने अवस्था रहेको बताए। उनले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने, उपचार प्रणाली सुधार गर्ने तथा क्षतिपूर्ति वितरण प्रक्रियालाई व्यावहारिक र समयानुकूल बनाउन प्रदेश सरकारले आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिए।
सिटौलाले सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउन जीपीएस प्रणाली, अनलाइन टिकटिङ, सिसी क्यामेरा जडान तथा यात्रुले अनिवार्य रूपमा तोकिएको स्थानबाट टिकट लिएर यात्रा गर्ने व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुनी तथा नीतिगत वातावरण निर्माण गर्न पनि आग्रह गरे।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा देशभरका ६० प्रतिशतभन्दा बढी सवारीसाधनको चाप रहने उल्लेख गर्दै ट्राफिक व्यवस्थापन सुधार, दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रदेश सरकार निरन्तर सक्रिय रहने बताए। यातायात व्यवसायीहरूले उपचार प्रणाली, ट्राफिक व्यवस्थापन र क्षतिपूर्ति प्रक्रियामा सुधार भए सार्वजनिक यातायात सेवा थप सुरक्षित, भरपर्दो र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन्।