उदयपुरमा ईभी गाडी दुर्घटना हुँदा १० जना घाइते
उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा ईभी गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार दिउँसो बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२१ नम्बरको ईभी गाडी अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक राजकुमार खड्काको कमान्डमा ११ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाएको जनाएको छ।
दुर्घटनामा गाडी चालक काठमाडौँ महानगरपालिका–३२ निवासी ४२ वर्षीय कृष्ण केसी, झापाको सुरुङ्गा नगरपालिका–३ की ४० वर्षीया रेणुका प्रसाई, मोरङको उर्लाबारी नगरपालिका–३ की ५० वर्षीया निलकुमारी लम्साल, सुनसरीको इटहरी उपमहानगरपालिका–१२ की ४३ वर्षीया मुना ढकाल र उदयपुरको बेलका नगरपालिका–१ का ३८ वर्षीय प्रबिन तामाङ मध्यम घाइते भएका छन्।
त्यस्तै, रेणुका प्रसाईका १४ वर्षीय छोरा नैन प्रसाई, मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ७० वर्षीय अमृतबहादुर खड्का, सुनसरीको इटहरी उपमहानगरपालिका–८ की ३७ वर्षीया रन्जिता गौतम, उदयपुरको चौदण्डीगढी नगरपालिका–१० की २५ वर्षीया जमुना परियार विक र उनका ९ वर्षीय छोरा अंकित विक सामान्य घाइते भएका छन्।
दुर्घटनामा घाइते भएका सबैको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।