झापामा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ, दुई लाखभन्दा बढी नगद बरामद
झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद, तास, कौडा र मोबाइलसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार कात्तिक २३ गते दिउँसो साढे ४ बजे कमल गाउँपालिका–५ स्थित गीता भट्टराईको घरमा जुवा खेलिरहेको अवस्थामा घरधनीसहित १२ जना पक्राउ परेका हुन्। ४५ वर्षीया भट्टराईको घरमा खानतलासी गर्दा प्रहरीले एक लाख १८ हजार दुई सय रुपैयाँ नगद, पाँच बुङ तास र नौ थान मोबाइल बरामद गरेको छ।
त्यस्तै, कात्तिक २४ गते राति करिब ३ बजे दमक नगरपालिका–१० स्थित स्वास्थ्य चौकी नजिकैको पुरानो गोठमा कौडा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट ८९ हजार सात सय १० रुपैयाँ नगद, १५ थान कौडा र नौ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
दुवै घटनामा पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।