रुपन्देहीमा पटका पड्काउने सात जना प्रहरी नियन्त्रणमा, एक जना घाइते
रुपन्देहीमा अवैध रूपमा पटका पड्काएर आतिशबाजी गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पटका पड्काउने क्रममा एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कात्तिक २३ गते साँझ पौने ७ बजे कञ्चन गाउँपालिका–१ स्थित हात्तिबजार चोकमा लालिगुँरास युवा क्लबले भैलो खेलिरहेको समयमा पटका पड्काउँदा एक जना घाइते भएका थिए।
उक्त घटनामा संलग्न कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का कृष्ण परियार र आर्यन परियारलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो। घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा पटका पड्काएर आतिशबाजी गरिरहेको अवस्थामा थप पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी नियन्त्रणमा पर्नेमा कपिलवस्तुका कृष्ण परियार र आर्यन परियारसहित रुपन्देहीका किसन मिश्र, पञ्चम हरिजन, अंगत कुमार कहार, हेमसल बरई र सन्देश परियार रहेका छन्।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन्।