हेटौँडामा प्रहरी सहायक हवल्दार मृत फेला
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी कर्मचारी मृत फेला परेका छन्।
मंगलबार बिहान करिब ४ः३० बजे ओमनगर गेट नजिकै प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ झुन्डिएको अवस्थामा फेला परेका हुन्।
मर्निङ वाकमा निस्किएका एक व्यक्तिले उनलाई देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल स्थायी घर भएका ३५/३६ वर्षीय गुरुङ हाल लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिएका छन्।
उनी के कारणले हेटौँडा पुगेका थिए भन्नेबारे खुलेको छैन। घटनास्थलमा सुसाइड नोटसमेत फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खत्रीले बताएका छन्।