बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु, चालक गम्भीर घाइते
बर्दियाको बढैयातालमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
बढैयाताल गाउँपालिका–८ स्थित शीतलबजारमा भे १४ प ८६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा बाँकेको कोहलपुर नगरपालिका–९ निवासी २० वर्षीय मोटरसाइकल चालक दिक्षित श्रेष्ठ र पछाडि सवार १६ वर्षीय रिदम थापा घाइते भएका थिए।
घाइते दुवै जनालाई प्रारम्भिक उपचारका लागि नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल मेडिकल साइन्स कलेज लगिएको थियो। त्यहाँ उपचारपछि थप उपचारका लागि भारतको लखनउ लगिएका रिदम थापालाई चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका चालक श्रेष्ठको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।