पर्सामा साढे ३ लाख रुपैयाँका पटाका तथा विस्फोटक पदार्थ बरामद
पर्सा प्रहरीले चार दिनको अवधिमा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरका पटाका, आतिशबाजी तथा विस्फोटकजन्य पदार्थ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले कात्तिक २१ गतेदेखि विभिन्न स्थानमा खटिएर खुर्सानी पटाका, चक्र, फुलझरी, रकेट पटाका, आलु बम, झिरझिरेलगायतका विस्फोटकजन्य सामग्री नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पटाका तथा आतिशबाजीजन्य पदार्थ विस्फोटक पदार्थअन्तर्गत पर्ने भएकाले कानुनले यसको उत्पादन, भण्डारण, बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज लगाएको छ।
उनले यस्ता पदार्थको प्रयोगबाट जनधनको क्षति, आगलागी तथा वातावरण प्रदूषणजस्ता समस्या निम्तिन सक्ने भएकाले यसको कारोबार र प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
प्रहरीले बालबालिकालाई विस्फोटक पदार्थको गतिविधिमा संलग्न नगराउन तथा सम्भावित जोखिमबाट बचेर सुरक्षित रूपमा चाडपर्व मनाउन पनि अनुरोध गरेको छ।
यसअघि सोमबार पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाका पड्काउने क्रममा निस्किएको छर्रा लागेर पाँच वर्षीय कुन्दन सहनीको मृत्यु भएको थियो। उक्त घटनापछि प्रहरीले पटाका तथा विस्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ।
सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण गर्न प्रहरीले गस्ती तथा निगरानीसमेत बढाएको जनाएको छ।