छठ पर्वको तयारी तीव्र, जनकपुरधामका पोखरी तथा घाटको सरसफाइ र शृङ्गार सुरु
दीपावली सकिएसँगै मधेस प्रदेशका विभिन्न जिल्लामा छठ पर्वको तयारी तीव्र पारिएको छ।
प्रदेश राजधानी जनकपुरधाममा छठ पर्वलाई भव्य र व्यवस्थित रूपमा मनाउन पोखरी तथा तलाउको सरसफाइ र शृङ्गार गर्ने काम सुरु भएको छ। यस्तै, बजारमा छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्नेको चहलपहल पनि बढेको छ।
मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको छठ पर्वको तयारीस्वरूप जनकपुरधामका गङ्गासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायतका जलाशयको सरसफाइ भइरहेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले जानकारी दिएका छन्।
विशेषगरी गङ्गासागर र धनुषसागरमा छठ मनाउने परम्परा रहेकाले स्थानीयवासीको सहयोगमा घाट व्यवस्थापन र शृङ्गारको कामलाई तीव्रता दिइएको छ।
यस वर्ष छठ पर्वको अवलोकनका लागि प्रधानमन्त्री वालेन्द्र शाहसमेत जनकपुरधाम आउने तयारी रहेकाले गङ्गासागर छठ घाटलाई थप व्यवस्थित र आकर्षक बनाउने काम भइरहेको साहले बताएका छन्।
यता, जनकपुरधामको पेठिया बजार, गाउँघरका हाटबजार तथा मेलामा छठ पूजाका सामग्री खरिद गर्नेको भीड बढ्न थालेको छ। बाँसबाट निर्मित छिटी, नाङ्लो, ढाकीलगायतका सामग्रीको मागसमेत बढेको स्थानीय सुमित्रादेवी कर्णले बताइन्।
छठ पर्व नजिकिएसँगै पुस्तौँदेखि बाँसका सामग्री निर्माण गर्दै आएका डोम समुदायका कारीगरलाई पनि सामग्री बनाउन भ्याइनभ्याइ भएको छ।
छठका लागि आवश्यक परम्परागत सामग्रीको माग बढेसँगै स्थानीय कारीगरको पुख्र्यौली पेसाले पनि बजार पाउन थालेको छ।