४० वर्षपछि मोदीको न्यूजील्यान्ड भ्रमण
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी करिब ४० वर्षपछि प्रधानमन्त्रीका हैसियतमा पहिलो पटक न्यूजील्यान्डको औपचारिक भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र न्यूजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच व्यापार, लगानी, रक्षा, शिक्षा, सुरक्षा तथा रणनीतिक साझेदारीका विषयमा द्विपक्षीय वार्ता हुने भएको छ।
हालै सम्पन्न स्वतन्त्र व्यापार सम्झौताले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। सम्झौताअनुसार भारतको न्यूजील्यान्डतर्फ हुने शतप्रतिशत निर्यातमा आयात शुल्क हटाइनेछ, जसले भारतीय वस्तुलाई त्यहाँको बजारमा थप प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ। साथै, न्यूजील्यान्डले आगामी १५ वर्षमा २० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
भारत र न्यूजील्यान्डबीच सन् १९५२ देखि कूटनीतिक सम्बन्ध कायम छ। दुवै देश व्यापार, कृषि, प्रविधि, स्वास्थ्य, शिक्षा, पर्यटन, रक्षा र इन्डो–प्यासिफिक क्षेत्रीय सुरक्षालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्दै आएका छन्। मोदीको भ्रमणलाई दुई देशबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा हेरिएको छ।