आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई काठमाडौं महानगरको सहयोग घोषणा
काठमाडौं महानगरपालिकाले आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको परिवारलाई मानवीय सहयोग, रोजगारीको व्यवस्था तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेको छ।
शुक्रबार राति जारी विज्ञप्तिमा महानगरले यससम्बन्धी निर्णय कार्यपालिका बैठकबाट विधिसम्मत रूपमा गर्ने जनाएको छ। उपचारका क्रममा शुक्रबार निधन भएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महानगरले शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको छ।
महानगरले घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले गठन गर्ने समितिलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, नेपाल सरकारसँग समन्वय गरी यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारात्मक कदम चाल्न र प्रभावकारी अभ्यास कार्यान्वयन गर्न तयार रहेको उल्लेख गरेको छ।