पारिश्रमिक विवादमा खोटाङमा खुकुरी प्रहार, एकै परिवारका तीन जना पक्राउ
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पारिश्रमिकको विषयमा भएको विवादपछि खुकुरी प्रहारबाट ३८ वर्षीय ध्रुव अधिकारीको हत्या भएको घटनामा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र २२ वर्षीया छोरी सीता सार्की रहेका छन्।
प्रहरीका अनुसार अधिकारी तीलकबहादुरको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न गएका बेला विवाद चर्किएपछि खुकुरी प्रहार भएको थियो। घटनापछि तीलकबहादुर आफैंले प्रहरीलाई फोन गरी जानकारी दिएका थिए र उनलाई तत्काल नियन्त्रणमा लिइएको थियो। मृतकका आफन्तको किटानी जाहेरीपछि उनकी श्रीमती र छोरीलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको हो।
घटनामा संलग्न आरोपितमाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। मृतक अधिकारीको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ।