१६ वर्षपछि स्पेन विश्वकपको सेमिफाइनलमा, अब फ्रान्ससँग भिडन्त
फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ।
लस एञ्जलस स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा स्पेनलाई जित दिलाउन फेबियन रुइज र मिकेल मेरिनोले एक–एक गोल गरे। बेल्जियमका चार्ल्स डे केटलेरले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलको ३०औँ मिनेटमा रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। तर ४१औँ मिनेटमा डे केटलेरले बराबरी गोल गरेपछि पहिलो हाफ १–१ को अवस्थामा सकिएको थियो। खेल बराबरीतर्फ अघि बढिरहेका बेला ८८औँ मिनेटमा मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई अन्तिम चारमा पुर्याए।
सन् २०१० को विश्वविजेता स्पेन २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ र २०२२ मा अन्तिम १६ बाटै बाहिरिएको थियो। यसपटक भने उत्कृष्ट प्रदर्शन गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
अब स्पेनले फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ।