एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा आज साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ। यस खेलको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले फाइनल पुग्ने अर्को अवसरका लागि क्वालिफायर–२ खेल्नेछ।
लिग चरणको अंकतालिकामा लुम्बिनी लायन्स शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको हो। लुम्बिनीले सात खेलमध्ये पाँचमा जित र एकमा हार बेहोर्दै ११ अंक जोडेको थियो।
त्यस्तै, सुदूरपश्चिम रोयल्स पाँच जित र दुई हारसहित १० अंक जोडेर दोस्रो स्थानमा रह्यो।
यी दुई टोलीबीच प्रतियोगिताको उद्घाटन खेलमा पनि प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो।
यद्यपि, समग्र हेड टु हेडमा भने दुवै टोली बराबरी अवस्थामा छन्। अहिलेसम्म भएका चार प्रतिस्पर्धामा दुवै टोलीले समान दुई–दुई जित निकालेका छन्।
यसर्थ, आजको खेल दुवै टोलीका लागि फाइनल प्रवेश गर्ने महत्वपूर्ण अवसर हुनेछ। साविक विजेता लुम्बिनी आफ्नो उपाधि रक्षा अभियानलाई निरन्तरता दिन चाहन्छ भने सुदूरपश्चिम पहिलो क्वालिफायर जित्दै उपाधि नजिक पुग्ने लक्ष्यमा हुनेछ।