साढे ६ सय ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
आधा किलोभन्दा बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४२ वर्षीय चिनियाँ नागरिक झाङ गोअक्वीङ रहेका छन् । उनलाई त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालय, सानो गौचरले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी आइतबार राति साढे १० बजे हङकङबाट क्याथे प्यासिफिक एयरको विमानमार्फत काठमाडौं आएका थिए । विमानस्थलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डिराज नेउपानेका अनुसार उनले भित्री वस्त्रमा प्लास्टिकले बेरेर अर्धठोस आकारको सुन लुकाएर ल्याएको पाइएको छ ।
प्रहरीले उनको साथबाट ६३५.९६ ग्राम सुन बरामद गरेको जनाएको छ । पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।