एमालेले बोलायो स्थायी कमिटी बैठक
नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टीले भोलि दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक आह्वान गरेको हो।
एमालेको आगामी मंसिर २ र ३ गते राष्ट्रिय भेला हुँदैछ। उक्त भेलाको तयारी तथा आवश्यक निर्णयका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएको जनाइएको छ।
राष्ट्रिय भेलालगत्तै मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको भेला आयोजना गर्ने तय भएको छ। त्यस्तै, मंसिर ५ गते केन्द्रीय कमिटी बैठक बस्ने कार्यक्रमसमेत तय गरिएको छ।
राष्ट्रिय भेला, जनप्रतिनिधि भेला र केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि एमाले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने तयारीमा रहेको छ।