छठघाट कुर्न बसेका ६० वर्षीय पुरुष पोखरीमा मृत फेला
धनुषाको सहिदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट कुर्न बसेका एक पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका छन्। मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रामजतन यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यादव आइतबार राति धनी पोखरीमा छठघाट निर्माण गरी एक्लै कुर्न बसेका थिए। सोमबार बिहान करिब ६ बजे उनी पोखरीमा मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार मृतक यादवको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले काटिएको जस्तो चोट देखिएको छ। घटनास्थल नजिकै पोखरीको पानीमा पराल काट्ने दाउसमेत फेला परेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालको कमान्डमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।
डीएसपी खनालका अनुसार घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान तथा मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको जनाएको छ। घटनास्थलमा देखिएका चोटपटक र अन्य प्रमाणका आधारमा यादवको हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ। स्थानीयवासीले यादवलाई ‘म्यानेजर’ नामले समेत चिन्ने गरेको प्रहरीले जनाएको छ।