बंगलादेशमा अवामी लिगका सयौँ कार्यकर्ताको प्रदर्शन, सार्वजनिक संरचनामा तोडफोड
बंगलादेशको प्रतिबन्धित राजनीतिक दल अवामी लिगका सयौँ कार्यकर्ताले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा प्रदर्शन गरेका छन्।
आइतबार भएको प्रदर्शनका क्रममा उनीहरूले प्रहरीका अवरोध तोड्नुका साथै सार्वजनिक संरचना, स्मारक र प्रहरीका सवारीसाधनमा तोडफोड गरेका छन्। प्रदर्शनकारीले विभिन्न स्थानमा टायर बालेर यातायातसमेत अवरुद्ध पारेका थिए।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनमा अवामी लिग, युवा लिग र छात्र लिगका कार्यकर्ताको सहभागिता थियो। उनीहरूले हसिना र पार्टीको समर्थनमा नाराबाजी गर्दै जिल्ला पार्टी कार्यालयसमेत खोलेका थिए।
प्रदर्शनका क्रममा जुलाई स्मारकमा तोडफोड गरिएको छ भने विभिन्न शैक्षिक संस्थाका नामपट्टी हटाएर पुराना नाम राखिएको छ। प्रहरीको बख्तरबन्द गाडी र प्रहरी बिटमा समेत क्षति पुर्याइएको छ।
घटनालाई नियन्त्रणमा लिन गोपालगञ्जमा प्रहरी, सीमा सुरक्षा बल (बीजीबी) लगायतका सुरक्षाकर्मी परिचालन गरिएको थियो।
अवामी लिगले नोभेम्बर १४ देखि १९ सम्म देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ। पार्टीले नोभेम्बर १७ लाई कालो दिवसका रूपमा मनाउने र १९ गते देशव्यापी बन्दको आह्वान गरेको छ।
सन् २०२४ को जुलाईमा भएको जनविद्रोहपछि शेख हसिनाको सरकार ढलेको थियो। उनी त्यसयता भारतमा निर्वासनमा बस्दै आएकी छन्।