जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै काठमाडौंमा प्रदर्शन
जलवायु न्याय, हानि तथा क्षतिको क्षतिपूर्ति र पर्याप्त जलवायु वित्तको माग गर्दै काठमाडौंमा विभिन्न नागरिक समाज, ट्रेड युनियन तथा सामाजिक सङ्घसंस्थाले प्रदर्शन गरेका छन्।
विश्वव्यापी कार्यदिवसका अवसरमा गत शनिबार आयोजित प्रदर्शनमा सहभागीहरूले जलवायु सङ्कटमा कम योगदान गरेका नेपालजस्ता विकासशील देशले बढी असर भोग्नुपरेको भन्दै विकसित राष्ट्रलाई ऐतिहासिक जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।
नेपाल ट्रेड युनियन महासङ्घ, एलडीसी वाच, ग्रामीण पुनर्निर्माण नेपाललगायत संस्थाको नेतृत्वमा भएको प्रदर्शनमा जलवायु वित्त ऋण नभई सार्वजनिक अनुदानका रूपमा उपलब्ध गराउनुपर्ने माग गरिएको थियो।
प्रदर्शनकारीहरूले जलवायुजन्य क्षतिको क्षतिपूर्ति, जोखिममा रहेका समुदायको अधिकार सुनिश्चितता तथा जलवायु नीति निर्माणमा श्रमिक, किसान र आदिवासी जनजातिको सहभागिता सुनिश्चित गर्न पनि माग गरेका छन्।