अमेरिकामा हवाई सेवा अस्तव्यस्त, हजारौँ उडान प्रभावित
अमेरिकाको हवाई यातायात नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्याका कारण हजारौँ उडान प्रभावित भएका छन्। शुक्रबारदेखि अवरुद्ध हवाई सेवा पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन्।
फ्लाइटअवेयरका अनुसार आइतबार मात्रै अमेरिकामा आठ हजार आठ सयभन्दा बढी उडान ढिला भएका छन् भने दुई हजार चार सय उडान रद्द भएका छन्। यसअघि शनिबार पाँच हजार नौ सयभन्दा बढी उडान रद्द भएका थिए।
अमेरिकी यातायातमन्त्री सिन डफीले हवाई सेवा पूर्ण रूपमा नियमित हुन सोमबारसम्म लाग्न सक्ने बताएका छन्। विमान र चालक दल निर्धारित स्थानमा नरहेकाले उडान तालिका मिलाउन समय लाग्ने उनको भनाइ छ।
अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार देशभरका विमानस्थलबाट उडान रोक्न निर्देशन दिएपछि हवाई सेवा अस्तव्यस्त बनेको थियो। यसको असर बेलायत र युरोपबाट हुने केही अन्तर्राष्ट्रिय उडानमा समेत परेको थियो।
मन्त्री डफीका अनुसार हवाई ट्राफिक नियन्त्रक र विमान चालकबीच सञ्चारका लागि प्रयोग हुने प्रणालीमा प्राविधिक खराबी आएपछि समस्या उत्पन्न भएको हो।
यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी हवाई यातायात नियन्त्रण प्रणालीका पुराना उपकरणको आधुनिकीकरण गर्न थप बजेट विनियोजन गर्न संसद्लाई आग्रह गरेका छन्।