चोरीका मोटरसाइकल र स्कुटरसहित तीन जना पक्राउ
प्रहरीले चोरीका मोटरसाइकल तथा स्कुटरसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भई गोकर्ण बस्ने २१ वर्षीय तेन्जिङ लामा, जुगल गाउँपालिका–३ घर भई माकलबारी बस्ने १९ वर्षीय लाक्पा शेर्पा र सोही स्थानका २८ वर्षीय समीर तामाङलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार लामा र शेर्पालाई शुक्रबार तथा तामाङलाई शनिबार पक्राउ गरिएको हो। उनीहरूको साथबाट बा८४प ५४८४ नम्बरको मोटरसाइकल, बा.प्र.०२–०३०–प ८४७५ नम्बरको स्कुटर, प्रदेश ३–०२–००७ प ८२७५ र बा३२प ४५६० नम्बरका नम्बर प्लेट बरामद गरिएको छ।
त्यसैगरी, एक थान सवारी दर्ता किताब, एक थान टुल बक्स, १३ थान टुल किट र चार थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ।