कांग्रेसको जिल्ला अधिवेशन पुस पहिलो साता गर्ने गगन थापाको घोषणा
नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको बताएका छन् ।
आइतबार छठ पर्व मनाउन सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ पुगेका सभापति थापाले अब बस्ने केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुने र केन्द्रीय निर्वाचन समितिमार्फत अधिवेशनको मिति तय गरिने जानकारी दिएका हुन् ।
‘पुसको पहिलो साता जिल्ला अधिवेशन गर्छौं, त्यसपछि तीन–चार दिनमा प्रदेश अधिवेशन गरिन्छ,’ उनले भने ।
जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेपछि पार्टी स्थानीय तह निर्वाचनको तयारीमा जुट्ने उनले बताए ।
कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन नगरी १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गरेको थियो ।
यसैबीच, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मितिबारे छलफल गर्न प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूलाई मङ्सिर ४ गते बोलाएको छ । आयोगसँगको छलफलपछि स्थानीय तह निर्वाचनको मिति तय हुने सभापति थापाको भनाइ छ ।
उनले केन्द्रीय सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको टिप्पणीसमेत गरेका छन् ।