इजरायलमा एकता सरकार गठनबारे नेतान्याहू र आइजेनकोटबीचको वार्ता निष्कर्षविहीन
इजरायलमा संयुक्त सरकार गठनका लागि प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र विपक्षी नेता गादी आइजेनकोटबीच भएको वार्ता निष्कर्षविहीन बनेको छ।
प्रधानमन्त्री पद कसले लिने भन्ने विषयमा दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि सहमति जुट्न नसकेको टाइम्स अफ इजरायल ले जनाएको छ।
आइतबार नेतान्याहूको लिकुड पार्टी र आइजेनकोट नेतृत्वको याशार पार्टीका वार्ता टोलीबीच करिब एक घण्टा छलफल भएको थियो। बैठकपछि दुवै पक्षले सकारात्मक वातावरणमा वार्ता भएको र छलफललाई निरन्तरता दिने बताएका थिए।
आइजेनकोटले सरकार गठनका लागि अति दक्षिणपन्थी नेता इतामार बेन्गभिरको पार्टीलाई सरकारमा सहभागी नगराउनुपर्ने सर्त राखेका छन्। तर नेतान्याहूले आफ्ना दक्षिणपन्थी तथा धार्मिक सहयोगी दललाई सरकारमा सहभागी गराउनुपर्ने अडान राख्दै आएका छन्।
यसैबीच, आइजेनकोट नेतृत्वको गठबन्धनले अति धार्मिक दल युनाइटेड टोरा जुडाइजमसँग पनि सहकार्यका लागि छलफल गरिरहेको छ। तर सैनिक सेवासम्बन्धी कानुनको विषयमा सहमति नजुट्दा गठबन्धन निर्माणमा चुनौती देखिएको छ।
नेतान्याहूसँग सहकार्य गर्ने विषयमा आइजेनकोटको गठबन्धनभित्रै पनि मतभेद रहेको समाचारमा उल्लेख छ।