चाडपर्वमा सडक दुर्घटना र मानवीय क्षतिमा कमी, ट्राफिक कारबाही बढ्यो
यस वर्षको दसैँ–तिहार अवधिमा जिल्लामा सडक दुर्घटना र मानवीय क्षतिमा कमी आएको छ। तर ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही र राजस्व संकलन भने बढेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा घटस्थापनादेखि कात्तिक २४ गतेसम्म ६६ दुर्घटना हुँदा ११ जनाको मृत्यु र ११७ जना घाइते भएका थिए।
चालु आर्थिक वर्ष २०८३/८४ मा असोज २५ देखि कात्तिक २६ गतेसम्म ३४ दुर्घटना भएका छन्। ती दुर्घटनामा आठ जनाको मृत्यु र १०१ जना घाइते भएका छन्।
यस अवधिमा ट्राफिक कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्या एक हजार ८६१ पुगेको छ। कारबाहीबाट १७ लाख ७२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्ष एक हजार ३५ सवारीसाधन कारबाहीमा पर्दा नौ लाख २४ हजार ५३१ रुपैयाँ संकलन भएको थियो।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले चाडपर्व लक्षित कडा चेकजाँच, कारबाही र जनचेतनामूलक कार्यक्रमका कारण दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको बताए।
उनले तीव्र गतिमा सवारी नचलाउन र मादक पदार्थ सेवन गरी सवारी नचलाउन चालकलाई आग्रह गरेका छन्।