सप्तरीमा छुट्टाछुट्टै सवारी दुर्घटना : दुई जनाको मृत्यु, पाँच जना घाइते
सप्तरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाका विभिन्न स्थानमा भएका मोटरसाइकल तथा कार दुर्घटनामा उनीहरू घाइते भएका हुन्।
बोदेबरसाईन नगरपालिका–७ हैठीस्थित हुलाकी सहायक सडकखण्डमा मोटरसाइकलले स्याललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
प्र.२–०१–००२ प ४१६३ नम्बरको मोटरसाइकलले स्याललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ मल्हनियाँका करिब ५० वर्षीय नजरुल मियाँको मृत्यु भएको हो।
टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेका मियाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार उनका २२ वर्षीय छोरा मो. नजामुल मियाँ घाइते भएका छन्।
त्यस्तै, सप्तरीकै बलान बिहुल गाउँपालिका–६ सेहरा चोकस्थित हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको छ।
चन्हीबाट बोदेबरसाईनतर्फ जाँदै गरेको म.प्र.०१–००५ प ५६७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक बलान बिहुल गाउँपालिका–२ चन्हीका २० वर्षीय राजीव पासवान घाइते भएका थिए। उनको उपचारका क्रममा आइतबार दिउँसो १ः१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
यसैगरी, बोदेबरसाईन नगरपालिका–७ हैठीस्थित हुलाकी सहायक सडकखण्डमै भएको अर्को मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्। दुर्घटनामा बोदेबरसाईन नगरपालिका–१० श्रीपुरका करिब १८ वर्षीय चालक विजय मण्डल र मोटरसाइकलको पछाडि सवार २१ वर्षीय रामप्रकाश साह घाइते भएका हुन्।
त्यस्तै, सप्तकोशी नगरपालिका–११ भगनीमा भारतीय नम्बरको कारको ठक्करबाट एक साइकलयात्री गम्भीर घाइते भएका छन्। फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको नम्बर नखुलेको भारतीय कारले सोही दिशातर्फ गइरहेका साइकलयात्रीलाई पछाडिबाट ठक्कर दिएको थियो।
कारको ठक्करबाट स्थानीय करिब ५० वर्षीय दनाई सदा गम्भीर घाइते भएका छन्।
यसैगरी, अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ बग्दुवामा मोटरसाइकल अनियन्त्रित भई नहरमा खस्दा एक युवक गम्भीर घाइते भएका छन्।
महुलीबाट लोहजरातर्फ जाँदै गरेको प्रदेश १–२०४५ प ९८४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउको नहरमा खसेको थियो। दुर्घटनामा मोटरसाइकल चालक तिरहुत गाउँपालिका–५ लोहजराका १९ वर्षीय शैलेशकुमार साह घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार घटनाहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।