निजी गुठी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा २७ जनाविरुद्ध मुद्दा
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात सच्याएर निजी गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा २७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
मुद्दा दायर हुनेमा मालपोत कार्यालय टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनालसहित कर्मचारी र अन्य संलग्न व्यक्ति रहेका छन्।
अख्तियारका अनुसार काठमाडौंको साविक साङ्ग्ला गाविस–९ मा रहेको निजी गुठीको जग्गा आपसी मिलेमतोमा सरकारी कागजात हेरफेर गरी व्यक्तिको नाममा कायम गराएको अनुसन्धानबाट खुलेको हो।
आयोगले प्रतिवादीहरूविरुद्ध गलत लिखत तयार पारेको, सरकारी कागजात सच्याएको र सरकारी सम्पत्तिमा नोक्सानी पुर्याएको आरोप लगाउँदै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको माग दाबी गरेको छ।