चीनमा टाइफुन ‘बवी’को जोखिम, एक सातामा ५० भन्दा बढीको मृत्यु
बेइजिङ– एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको चीनमा शक्तिशाली टाइफुन ‘बवी’ पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता अपनाइएको छ।
प्रतिघण्टा १६२ किलोमिटरको गतिमा अघि बढिरहेको टाइफुन ‘बवी’ ताइवान हुँदै चीनको फुजियान र झेजियाङ प्रान्तको सीमाक्षेत्रमा पुग्ने अनुमान गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ भने उद्धार टोली तयारी अवस्थामा राखिएको छ।
झेजियाङ प्रान्तमा १७ हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको छ। करिब १ लाख ७० हजार उद्धारकर्मीलाई सम्भावित विपद् व्यवस्थापनका लागि परिचालन गरिएको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
यसअघि दक्षिणी चीनमा आएको आँधी ‘मेसाक’ का कारण आएको बाढीमा ३९ जनाको मृत्यु भएको थियो भने हुबेईमा आएको आँधीमा थप ११ जनाको ज्यान गएको थियो। गान्सुमा भएको भूस्खलनमा २१ वनकर्मीको मृत्यु भएको छ।