गृहमन्त्रीको भावुक सम्बोधनका क्रममा रास्वपा सांसद आशिका तामाङ भक्कानिइन्
प्रतिनिधिसभा बैठकमा गृहमन्त्री सुधन गुरुङको भावुक सम्बोधनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ भक्कानिएर रोएकी छन्।
गृहमन्त्री गुरुङले रोस्ट्रमबाट बोल्दै गणेश विकको आत्मदाह प्रकरणबारे आफूले गरेको प्रयास सम्झँदै भावुक अभिव्यक्ति दिएका थिए। गणेशको ज्यान जोगाउन आफू रातभर नसुती विभिन्न निकायसँग समन्वय गर्दै दौडधुप गरेको उनले बताए। उक्त घटनालाई लिएर आफ्नो भूमिकालाई ‘स्टन्ट’ भन्नेहरूलाई पनि उनले कडा शब्दमा जवाफ दिएका थिए।
गृहमन्त्रीको भावुक सम्बोधनका क्रममा संसद् बैठक केहीबेर स्तब्ध बनेको थियो। रास्वपा सांसदहरूको अनुहार पनि गम्भीर देखिन्थ्यो भने केही सांसदका आँखामा आँसु देखिएको थियो।
त्यसक्रममा सांसद आशिका तामाङ भने भावविह्वल बनेर दुई हातले अनुहार छोप्दै भक्कानिएर रोएकी थिइन्। उनको भावुक अवस्थाले सदनको वातावरण थप संवेदनशील बनेको थियो।