स्पेनमा भीषण डढेलो: १२ जनाको मृत्यु, हजारौँ विस्थापित
म्याड्रिड– दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा फैलिएको भीषण डढेलोमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
आन्दालुसिया क्षेत्रीय सरकारले डढेलोमा मृत्यु हुनेको संख्या १२ पुगेको पुष्टि गरेको हो। अधिकारीहरूका अनुसार केही मृतकको शव आगोले जलेका सवारीसाधनभित्र फेला परेको छ। घटनाको पूर्ण विवरण संकलन भइरहेको छ।
स्थानीय बासिन्दाका अनुसार विद्युत् लाइन ढलेपछि आगलागी सुरु भएको र त्यसपछि तीव्र गतिमा वन क्षेत्रमा फैलिएको हो। यद्यपि, डढेलोको वास्तविक कारण भने अझै पुष्टि हुन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।
डढेलो नियन्त्रणका लागि बेदार गाउँ आसपास करिब १५० जना अग्निनियन्त्रक परिचालन गरिएको छ। स्पेनको सैन्य आपतकालीन इकाइ (यूएमई) समेत उद्धार तथा नियन्त्रण अभियानमा सहभागी भएको छ।
घाइतेमध्ये एक जनालाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको छ भने अर्का एक जना आगोले पोलेर घाइते भएका छन्। अन्य घाइतेको घटनास्थलमै उपचार गरिएको छ।
डढेलोका कारण सडकहरू बन्द गरिएका छन् भने करिब एक हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको आपत्कालीन सेवाले जनाएको छ। आन्दालुसियाका क्षेत्रीय प्रमुख जुआन्मा मोरेनोले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।
दक्षिणी युरोपमा जारी अत्यधिक गर्मीका कारण स्पेनसहित फ्रान्स र पोर्चुगलमा पनि डढेलोको जोखिम बढेको छ। ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमका कारण हजारौँ मानिस विस्थापित भएका छन् भने सयौँ अग्निनियन्त्रक आगो नियन्त्रणमा खटिएका छन्।
स्पेन सरकारले यस वर्ष डढेलोको जोखिम उच्च रहने अनुमान गर्दै ठूलो स्तरको नियन्त्रण तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ।