ट्रम्पको इरानलाई चेतावनी, ‘आक्रमण भए हजारौँ क्षेप्यास्त्र प्रहार गर्न तयार’
काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट आफ्नो ज्यानमाथि कुनै आक्रमण वा हत्या प्रयास भए त्यसको जवाफमा अमेरिका ठूलो सैन्य कारबाही गर्न तयार रहेको चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानलाई लक्षित गरी एक हजार क्षेप्यास्त्र पूर्ण तयारी अवस्थामा राखिएको दाबी गर्दै, आफूविरुद्ध कुनै आक्रमण भए तत्काल हजारौँ थप क्षेप्यास्त्र प्रहार गरिने बताएका छन्।
यता, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले दुवै पक्षबीच भएको समझदारीको उल्लंघन गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले इरानले आफ्ना सबै प्रतिबद्धता पालना गर्दै आएको दाबी गर्दै सम्झौता उल्लंघनको जिम्मेवार अमेरिका नै भएको बताएका छन्।
यसैबीच, इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालीबाफले तेहरान अमेरिका सामु कहिल्यै नझुक्ने भन्दै, यदि अमेरिकाले समझदारी उल्लंघन गरे इरान आफ्नो रक्षा गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले पनि इरानी सशस्त्र बल देशका तट, टापु, सीमाना तथा अन्य संवेदनशील क्षेत्रमा तैनाथ रही अमेरिकी गतिविधिमाथि निरन्तर निगरानी गरिरहेको बताएका छन्।
यद्यपि, अल जजिराका अनुसार अमेरिकी उच्च अधिकारीहरूले अमेरिका–इरानबीचको वार्तालाई फलदायी भएको बताएका छन्। अमेरिका भने इरानसँग कुनै पनि सम्झौता हुनुअघि तेहरानले आणविक कार्यक्रमसम्बन्धी सर्तहरू स्वीकार गरी आफ्नो आणविक सामग्री हस्तान्तरण गर्नुपर्ने अडानमा कायम रहेको छ।