एम्बुलेन्स र उपमेयर सवार सरकारी गाडी ठोक्किँदा ८ जना घाइते
धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा एम्बुलेन्स र धनुषाधाम नगरपालिकाकी उपमेयर सवार सरकारी गाडी एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।
आज बिहान करिब ६:२० बजे बडहरीबाट बिरामी लिएर विराटनगरतर्फ जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा एम्बुलेन्स चालकसहित पाँच जना तथा सरकारी गाडीमा सवार चालक र धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेलसहित तीन जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको छ भने एक महिलाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
सबै घाइतेलाई उपचारका लागि धनुषास्थित जानकी मेडिकल कलेज, रमदैयामा भर्ना गरिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।