शिव शिखर सहकारीका थप ९६ बचतकर्ताले पाए बचत फिर्ता
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारीका थप ९६ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको जनाएको छ।
समितिका अनुसार हालसम्म शिव शिखर सहकारीका कुल एक हजार २१३ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाइसकेका छन्। पहिलो चरणमा न्यून रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिई भुक्तानी गरिएको र आगामी चरणमा बचत रकमका आधारमा वर्गीकरण गर्दै क्रमशः अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने समितिले जनाएको छ।
सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमकै आधारमा पीडित बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य भइरहेको स्पष्ट पारेको छ। प्रचलित कानुनी व्यवस्थाअनुसार समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रिया निरन्तर सञ्चालनमा रहने समितिको भनाइ छ।