अमेरिकाको छैटौँ रातको आक्रमणमा चाबहार बन्दरगाहको नियन्त्रण टावरमा क्षति
काठमाडौं । अमेरिकाले लगातार छैटौँ रात इरानका विभिन्न सैन्य तथा रणनीतिक लक्ष्यमा हवाई आक्रमण जारी राखेको छ। यस क्रममा भारतको लगानी रहेको चाबहार बन्दरगाहको नियन्त्रण (निगरानी) टावरमा पनि क्षति पुगेको बताइएको छ।
अमेरिकी रक्षामन्त्री पेट हेग्सेथले क्षतिग्रस्त टावरको तस्वीर सार्वजनिक गरेका छन् भने इरानी समाचार एजेन्सी मेहरले पनि चाबहार बन्दरगाहमा अमेरिकी आक्रमण भएको जनाएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार लडाकु विमान, ड्रोन र युद्धपोतमार्फत इरानका सैन्य अड्डा, तटीय निगरानी केन्द्र, हवाई प्रतिरक्षा प्रणाली र नौसैनिक अड्डालाई लक्षित गरी आक्रमण गरिएको हो।
चाबहार बन्दरगाह भारतका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ। भारतको लगानीमा विकसित उक्त बन्दरगाह भारतीय कम्पनी इन्डिया पोर्ट्स ग्लोबल लिमिटेडले सञ्चालन गर्दै आएको छ।
युद्धविरामको प्रयास भइरहे पनि अमेरिका–इरानबीच सैन्य तनाव कायमै छ। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार हालैका अमेरिकी आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्।
यसैबीच, इरानी सेनाले कुवेतस्थित अमेरिकी सैन्य सहायता केन्द्रहरूमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। उता, चीन र पाकिस्तानले दुवै पक्षलाई सैन्य कारबाही रोक्दै वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन्।