साउन सुरु भएसँगै पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
काठमाडौं — साउन महिना सुरु भएसँगै भगवान् शिवको पूजा–आराधनाका लागि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड बढेको छ।
साउने सङ्क्रान्तिका दिन बिहान झरीका बीच पनि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको लाम लागेको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण विसेटले जानकारी दिए।
साउन महिना भगवान् शिवको प्रिय महिना मानिने भएकाले यस अवधिमा पशुपतिनाथसहित विभिन्न शिवालयमा पूजा, आराधना र दर्शनका लागि ठूलो संख्यामा भक्तजन आउने गर्छन्।
पशुपतिनाथ मन्दिर परिसरमा हरियो र रातो पहिरनमा सजिएका महिलाको विशेष उपस्थिति देखिएको छ। भक्तजनको सहज दर्शन व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषले साउन महिनाभर आवश्यक तयारी अघि बढाएको जनाएको छ।
कोषका अनुसार साउन महिनाभर स्वयंसेवकका रूपमा खटिने व्यक्तिहरूसँग आज बैठक गरी व्यवस्थापनसम्बन्धी तयारी अघि बढाइनेछ।
पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर तथा वसन्तपुरस्थित मक्खन महादेव (सानो पशुपतिनाथ) लगायतका शिवालयमा पनि भक्तजनको उल्लेख्य भीड देखिएको छ।