दरबार हत्याकाण्डबारे फैलिएको सूचना सही नभएको ओलीको दाबी
काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८ सालको दरबार हत्याकाण्डबारे वर्षौंदेखि फैलाइएको सूचना सही नभएको दाबी गरेका छन्।
शुक्रबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको वेबसाइट तथा मोबाइल एपको नयाँ संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले दरबार हत्याकाण्डबारे एकपक्षीय सूचना र अफवाहले लामो समयसम्म जनमानसलाई प्रभावित पारेको बताए।
उनले युवराज दीपेन्द्र शाहले तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्या शाहसहित राजपरिवारका सदस्यको हत्या गरेर आत्महत्या गरेको भन्ने कथा विश्वभर फैलाइएको उल्लेख गर्दै त्यसलाई सही सूचना मान्न नसकिने दाबी गरे।
“बीस वर्षसम्म एकपक्षीय सूचनाले राज गर्यो। बिनाअध्ययन अफवाहले हाम्रो दिमागमा घर गर्यो। एउटा कथा बनाइयो, त्यसलाई विश्वभरका सञ्चारमाध्यमले फैलाए। वास्तवमा त्यो सूचना सही होइन। दीपेन्द्रले बाबुआमाको हत्या गरेका होइनन्,” ओलीले भने।
उनले समाजमा तथ्यभन्दा हल्ला र झुटा सूचना छिटो पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्दै आफूहरूले गरेका कामभन्दा विभिन्न अफवाहले बढी स्थान पाउने गरेको बताए।
“जादु गरेजस्तो एकैछिनमा यस्तो काम भयो भनेर हल्ला गरिन्छ। झुट पत्याउने बानी समाजमा पर्न लागिसकेको छ,” उनले भने।