दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्सबीच सम्झौता
काठमाडौं — कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इन्निसियटिभ्ससँग रणनीतिक परियोजनासम्बन्धी सम्झौता गरेको छ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इन्निसियटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
पर्यावरण तथा हरित बैंकिङ प्रवर्द्धनमा केन्द्रित सम्झौताले समुदायलाई बैंकिङ सेवाका लागि सक्षम बनाउने तथा बैंकलाई लक्षित समुदायको आवश्यकता अनुरूप क्षमता अभिवृद्धि गर्दै विभिन्न क्षेत्रमा सहकार्य गर्ने लक्ष्य राखेको छ।
कुमारी बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीबीचको दूरी कम गर्न समुदायको अवस्था र बैंकिङ जोखिमको संरचना बुझ्ने बलियो प्रणाली आवश्यक रहेको बताए।
उनले यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।