कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, खुलामञ्चमा उद्घाटन
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने कार्यक्रम छ।
कांग्रेसले उद्घाटन समारोहलाई विशेष बनाउन खुलामञ्चमा तयारी पूरा गरेको जनाएको छ। उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ।
देशभरबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रम शनिबारदेखि नै सुरु भएको छ। प्रतिनिधि दर्ताका लागि कांग्रेसले सानेपास्थित पार्टी कार्यालयमा डेक्स सञ्चालन गरेको छ।
यसैबीच, गगनकुमार थापा नेतृत्वको संस्थापन पक्षले महाधिवेशन गरिरहँदा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने महाधिवेशन प्रक्रियाबाट बाहिर रहेको छ। देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी थालेको जनाएको छ।