कांग्रेसको १५औँ महाधिवेशनमा १८ नयाँ अभ्यास, युवा र महिलाको प्रतिनिधित्वदेखि डिजिटल प्रचारसम्म
नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा फरक हुने भएको छ। विधान संशोधन कार्यान्वयन गर्दै यसपटक युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्व बढाउनेदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीमा समेत नयाँ अभ्यास गर्न लागिएको कांग्रेसले जनाएको छ।
यसपटक ३५ वर्षमुनिका २१ युवा केन्द्रीय सदस्य, कार्यसमितिमा कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्व तथा विभिन्न पेसा–क्षेत्रका विज्ञलाई नेतृत्वमा ल्याउने ‘ल्याटरल इन्ट्री’को व्यवस्था गरिएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट ६ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय बन्नेछ। त्यस्तै अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, पिछडिएको क्षेत्र, श्रमिक, प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
महाधिवेशनमा प्रतिनिधिहरूलाई प्रदेशगत समूहमा विभाजन गरी हिमाल, पहाड र तराई–मधेस नामका संरचनामा बन्दसत्र सञ्चालन गर्ने तयारी छ। राजनीतिक तथा सांगठनिक दस्तावेज डिजिटल रूपमा उपलब्ध गराउने र छलफलका सुझाव अभिलेख राख्ने व्यवस्था पनि गरिएको छ।
यसपटक प्यानल बनाएर निर्वाचन नगर्ने, प्रचारमा ठूला गेट, होर्डिङ तथा अत्यधिक झण्डा प्रयोग नगर्ने र डिजिटल माध्यमलाई प्राथमिकता दिने नीति लिइएको कांग्रेसले जनाएको छ। विपद्का कारण महाधिवेशनलाई खर्चिलो तथा भड्किलो नबनाउने र ‘कांग्रेस २.०’को अवधारणामार्फत संगठन तथा नेतृत्वमा नयाँ पुस्ताको भूमिकालाई प्राथमिकता दिने तयारी गरिएको छ।