आफ्नै गाउँमा पढेका डा. राजु विश्वकर्मा गाउँकै अस्पतालमा सेवा गर्न फर्किए
लनजुङ जिल्लाको पर्यटकिय एवं ग्रामीण भेगमा पर्ने क्व्होलासोथार गाउँपालिकाको स्वास्थ्य क्षेत्रका लागि आज शनिबार, असोज १६ गतेको दिन निकै ऐतिहासिक र विशेष बनेको छ।
गाउँपालिकाको वडा नं. २, मालिङस्थित मालिङ प्राथमिक अस्पतालमा छात्रवृत्ति करार सेवाअन्तर्गत डा. राजु विश्वकर्मा आधिकारिक रूपमा हाजिर भई आफ्नो चिकित्सकीय सेवा प्रारम्भ गर्नुभएको छ। आफ्नै स्थानीय तहको माटोमा हुर्किएर डाक्टर बन्नुभएका युवा चिकित्सक गाउँकै सरकारी अस्पतालमा सेवा गर्न आइपुगेपछि स्थानीय बासिन्दाहरू निकै खुसी र उत्साहित बनेका छन्।
विशेष गरी क्व्होलासोथार गाउँपालिका वडा नं. ९, टक्सार स्थायी घर भएका डा. विश्वकर्माले गाउँकै स्थानीय सरकारी विद्यालय श्री बुद्धोदय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो। आफ्नै गाउँको सरकारी विद्यालयबाट जग बसालेर कडा मिहिनेतका साथ चिकित्सा क्षेत्र जस्तो गरिमामय विधामा सफलता हासिल गर्नुभएका डा. विश्वकर्मा अब आफ्नै क्षेत्रका गरिब, विपन्न र ग्रामीण नागरिकहरूको स्वास्थ्य सेवामा अहोरात्र समर्पित हुनुहुनेछ। आफू जन्मिएको, हुर्किएको र कखरा सिकेको ठाउँमा चिकित्सकका रूपमा फर्किएर सेवा गर्ने अवसर पाउँदा आफूलाई संसारकै सबैभन्दा बढी खुसी र गर्वको महसुस भएको डा. विश्वकर्माले बताउनुभएको छ।
मालिङ प्राथमिक अस्पतालमा डाक्टर विश्वकर्माको स्थायी आगमनसँगै अब क्व्होलासोथार वडा नं. २ सहित गाउँपालिकाका विभिन्न दुर वडाका हजारौँ नागरिकहरूले सामान्य उपचारका लागि समेत महँगो खर्च गरेर सदरमुकाम बेसीसहर वा पोखरा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। स्थानीय तहकै रैथाने उत्पादनका रूपमा डा. विश्वकर्माको आगमनले गाउँपालिकाको समग्र स्वास्थ्य प्रणाली र आकस्मिक सेवालाई थप सुदृढ, प्रविधिमैत्री र प्रभावकारी बनाउने विश्वास स्वास्थ्य क्षेत्रका विज्ञहरूले लिएका छन्। डा. राजु विश्वकर्मालाई क्व्होलासोथार गाउँपालिकामा ल्याएर सेवा गर्ने यो सुवर्ण अवसर जुटाउनका लागि गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङको व्यक्तिगत समन्वय, पहल र निरन्तरको ताकेता निकै महत्त्वपूर्ण र उदाहरणीय रहेको स्थानीय अगुवाहरूले बताएका छन्।
नयाँ जिम्मेवारी सम्हाल्नुभएका डा. राजु विश्वकर्मालाई क्व्होलासोथार गाउँपालिका स्वास्थ्य शाखा तथा मालिङ प्राथमिक अस्पताल परिवारले खादा र अबिर ओढाएर हार्दिक स्वागत गर्दै एक सफल, निष्कलङ्क र ऐतिहासिक कार्यकालको हार्दिक शुभकामना व्यक्त गरेको छ। आफ्नै गाउँमा पढेर, डाक्टर बनेर पुनः आफ्नै गाउँका दिनदुःखी नागरिकको सेवामा फर्किएको यो दुर्लभ र परोपकारी दृश्यले सिंगो क्व्होलासोथार गाउँपालिकाको शिर राष्ट्रिय स्तरमै गर्वले उच्च बनाएको छ।