बेगनास तालमा डुबेर एक युवकको मृत्यु
पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजारमा बस्दै आएका अन्दाजी २४/२५ वर्षीय नरेश विक रहेका छन्।
सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति वसन्तबहादुर सिंहका अनुसार तालमा विक बेपत्ता भएको सूचना प्राप्त भएपछि कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमाण्डमा गोताखोरसहित ११ जनाको टोली खोज तथा उद्धारका लागि साँझ ५ः५५ बजे घटनास्थलतर्फ परिचालन गरिएको थियो।
खोजीका क्रममा गोताखोर सशस्त्र प्रहरी जवान देवराज खनाल र युवराज श्रेष्ठले साँझ ७ बजे विकलाई तालको करिब २५ फिट गहिराइबाट मृत अवस्थामा उद्धार गरेका थिए।
सशस्त्र प्रहरीले मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको जनाएको छ।