हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन अन्तिम चरणमा, दसैँलगत्तै चार्ज गर्ने तयारी
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी सबस्टेसनको निरीक्षण गर्दै प्रसारण लाइनको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।
करिब १२ वर्षदेखि अड्किएको प्रसारण लाइनको १६ वटा टावरमध्ये १४ वटा डबल सर्किट टावर निर्माण भइसकेका छन् भने बाँकी दुई मल्टिसर्किट टावर अन्तिम चरणमा पुगेका छन्।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार बाँकी दुई टावर १०–१५ दिनभित्र निर्माण सम्पन्न गरी दसैँलगत्तै प्रसारण लाइन चार्ज गर्ने तयारी छ।
प्रसारण लाइन सञ्चालनमा आएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप भरपर्दो हुने, औद्योगिक विद्युत् माग व्यवस्थापनमा सहयोग पुग्ने तथा वर्षायाममा उत्पादित विद्युत् खेर जान नदिई आन्तरिक खपत र विद्युत् निर्यात बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।