कृषिमन्त्री चौधरीद्वारा रुपन्देही, कपिलवस्तु र नवलपरासीका कृषि क्षेत्रको निरीक्षण
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न क्षेत्रको भ्रमण गरी कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिएकी छन्।
उनले कृषि उपकेन्द्र, मल वितरण, कृषि उत्पादन, सिँचाइ, विद्युतीकरण, कृषिसडक, कृषि बिमा तथा बजार व्यवस्थापनबारे सम्बन्धित अधिकारी र किसानसँग छलफल गरिन्।
मन्त्री चौधरीले मर्चवारीमाई, सम्मरीमाई र कोटहीमाई गाउँपालिकाका कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिँदै सम्मरीमाई–६ स्थित कृषि उपज सामग्री सङ्कलन केन्द्र, मर्चवारीमाई–१ को ५० बिघा क्षेत्रफलमा गरिएको केराखेती र कोटहीमाई–५ स्थित मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाको अवस्थाबारे जानकारी लिएकी हुन्।
किसानले हालैको हुरीबाट बालीमा भएको क्षति, उत्पादनको उचित मूल्य नपाएको, केराको बजारीकरणमा समस्या रहेको तथा कृषि बिमाको दाबी भुक्तानी प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए।
मन्त्री चौधरीले कृषि क्षेत्रको विकासका लागि सरकार, स्थानीय तह, किसान र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।