अमेरिकाबाट ३३ लाख आप्रवासी बाहिरिए, नेपालीमाथि पनि बढ्यो देशनिकालाको जोखिम
अमेरिकामा ट्रम्प प्रशासनले गैरकानुनी आप्रवासनविरुद्ध कडा अभियान सञ्चालन गरेपछि हालसम्म करिब ३३ लाख गैरकानुनी आप्रवासी अमेरिकाबाट बाहिरिएको अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) ले जनाएको छ।
डीएचएसका अनुसार यसमा अमेरिकी सरकारले देशनिकाला गरेका र आफैं अमेरिका छाडेर गएका दुवै समूहका आप्रवासी समावेश छन्। ६ लाख ७५ हजारभन्दा बढीलाई देशनिकाला गरिएको र करिब २२ लाख आप्रवासी स्वेच्छिक रूपमा अमेरिका छाडेर गएको प्रशासनको दाबी छ।
अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) का अनुसार फेब्रुअरी २०२५ देखि फेब्रुअरी २०२६ सम्म ३८८ जना नेपाली नागरिक पक्राउ परेका थिए। तीमध्ये १५६ जना नेपाल फर्काइएका थिए। पक्राउ परेकामध्ये २६४ जनाविरुद्ध आपराधिक अभियोग वा विचाराधीन आपराधिक मुद्दा नरहेको तथ्यांकमा उल्लेख छ।
नेपाली नागरिकविरुद्ध जारी हुने देशनिकाला आदेशसमेत बढेको देखिन्छ। २०२४ मा १९६ वटा आदेश जारी भएकामा २०२५ मा यो संख्या बढेर ७८३ पुगेको थियो। २०२६ को पहिलो ६ महिनामै थप ३७९ वटा देशनिकाला आदेश जारी भएको तथ्यांक छ।
नेपालको अध्यागमन विभागका अनुसार २०२५ मा अमेरिकाबाट ५५३ जना नेपाली नागरिक देशनिकाला भएर नेपाल फर्किएका थिए। २०२६ जनवरीमा मात्रै १०१ जना नेपाली फर्किएको विवरण सार्वजनिक भएको छ।
यद्यपि देशनिकाला आदेश जारी हुनु र तत्कालै अमेरिकाबाट फर्काइनु एउटै कुरा होइन। पुनरावेदन, कानुनी संरक्षण तथा अन्य अध्यागमन प्रक्रियाका कारण कतिपय व्यक्ति अमेरिकामै रहन सक्ने अवस्था हुन्छ। डीएचएसले सार्वजनिक गरेको ३३ लाखको कुल संख्यामा नेपाली नागरिक कति छन् भन्ने छुट्टै तथ्यांक भने सार्वजनिक गरिएको छैन।