अमेरिका–इरान तनाव अन्त्य गर्न पाकिस्तानको आग्रह, वार्ता पुनः सुरु गर्न आह्वान
इस्लामाबाद, असार ३२ — अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किएपछि पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी वार्ता प्रक्रियामा फर्किन आग्रह गरेको छ।
मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको पाकिस्तानले संवाद नै वर्तमान सङ्कट समाधान गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको जनाएको छ।
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले बिहीबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा गत महिना भएको समझदारीपत्र (एमओयु) कार्यान्वयन चुनौतीपूर्ण बने पनि सबै पक्षलाई हिंसा रोक्न र प्राविधिक तहको वार्ता पुनः सुरु गर्न आग्रह गरिने बताए।
उनले हर्मुज जलघाँटीको अवस्था छिट्टै सामान्य हुने आशा व्यक्त गर्दै समुद्री सुरक्षा तथा अन्तर्राष्ट्रिय जहाज आवागमनको स्वतन्त्रता सुनिश्चित गर्नु आवश्यक रहेको बताए।
यसैबीच, अमेरिकाले इरानमाथि नयाँ आक्रमण सुरु गरेपछि इरानले पनि खाडी क्षेत्रमा रहेका अमेरिकी स्वार्थलाई लक्षित गर्दै जवाफी कारबाही गरिरहेको छ। पछिल्लो तनाव हर्मुज जलघाँटी केन्द्रित बन्दै गएको छ, जसले विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढाएको छ।
विश्वको प्रमुख तेल तथा ग्यास ढुवानी मार्गमध्ये एक हर्मुज जलघाँटीमा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। यसले द्वन्द्वमा प्रत्यक्ष संलग्न नभएका देशहरूमा समेत मुद्रास्फीति र आर्थिक दबाब बढ्न सक्ने जोखिम देखिएको छ।
गत जुनमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच प्रारम्भिक समझदारी भएको थियो। तर पछिल्ला हिंसात्मक घटनाक्रमले उक्त समझदारी कार्यान्वयनमा चुनौती थपिएको छ।
प्रवक्ता अन्द्राबीले विश्वव्यापी ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार र खाद्य सुरक्षामा पर्ने सम्भावित प्रभावलाई ध्यान दिँदै तत्काल कूटनीतिक पहल आवश्यक रहेको बताए।