विश्वकप २०२६ विजेतालाई पहिलोपटक ‘च्याम्पियनसिप रिंग’ प्रदान गरिने
काठमाडौं । सन् २०२६ को फिफा विश्वकप विजेता टोलीले इतिहासमै पहिलो पटक ‘च्याम्पियनसिप रिंग’ (विजेता औँठी) प्राप्त गर्ने भएको छ।
फिफाका अनुसार औँठीको एकातर्फ विश्वकप ट्रफी अंकित हुनेछ भने अर्कोतर्फ विजेता टोलीको पहिचान झल्किने विशेष डिजाइन रहनेछ। आगामी आइतबार न्यू जर्सीको मेटलाइफ स्टेडियममा हुने अर्जेन्टिना र स्पेनबीचको फाइनलपछि विजेता टोलीलाई ट्रफी, स्वर्ण पदकसँगै यो औँठी प्रदान गरिनेछ।
फिफाको कुनै पनि प्रतियोगितामा पहिलोपटक यस्तो औँठी वितरण गर्न लागिएको हो। अमेरिकी खेलकुदमा प्रचलित ‘च्याम्पियनसिप रिंग’ परम्पराबाट प्रेरित यो अभ्यास विश्व फुटबलमा पहिलोपटक लागू गर्न लागिएको बताइएको छ।
प्रतियोगिताको वर्षलाई सम्मान गर्दै २,०२६ वटा औँठी उत्पादन गरिनेछ। विजेता टोलीका खेलाडी र प्रशिक्षकलाई औँठी प्रदान गरिनेछ भने बाँकी औँठी विश्वभरका फुटबल समर्थकका लागि बिक्रीमा राखिनेछ। प्रत्येक औँठीमा छुट्टै सिरियल नम्बर र आधिकारिक प्रमाणपत्र हुनेछ।
फाइनलपछि कप्तान र मुख्य प्रशिक्षकलाई अस्थायी औँठी प्रदान गरिनेछ। त्यसपछि टोलीका सदस्यको हातको नापअनुसार तयार पारिएका स्थायी औँठी विशेष समारोहमार्फत हस्तान्तरण गरिने फिफाले जनाएको छ।