नेविसंघ अध्यक्षद्वारा गगनलाई विद्यार्थी संगठन खारेज गर्ने निर्णयबारे धारणा सार्वजनिक गर्न आग्रह
नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले मातृ पार्टी नेपाली कांग्रेसका सभापति गगन थापालाई विद्यार्थी सङ्गठनहरू खारेज गर्ने सरकारको निर्णयबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न पनि आग्रह गरेका छन् ।
नेविसंघको स्थापना दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै शेर्पाले सरकारले अलोकतान्त्रिक र असंवैधानिक निर्णय गर्दा पार्टीको नेतृत्वले अहिलेसम्म पनि धारणा सार्वजनिक नगर्दा चिन्ता र दुःख लागेको शेर्पाले बताएका छन् ।
‘म पार्टी नेतृत्वलाई के भन्न चाहन्छु भने, यही कलम र मसाल अङ्कित झन्डाको आन्दोलनलाई लिएर आज पार्टीको नेतृत्वमा हुनुहुन्छ,’ अध्यक्ष शेर्पा भन्छन्, ‘विद्यार्थी आन्दोलनमाथि प्रहार हुँदै गर्दा नेपाली कांग्रेसले तत्काल धारणा सार्वजनिक गरेर सार्वभौम संसदमा सशक्त ढङ्गबाट यो विषयलाई उठान गर्न पनि म अनुरोध गर्न चाहन्छु ।’
उनले विधान अभावका कारण नेविसंघको १२औँ महाधिवेशनको बाटोमा अघि बढ्न नसकेको भन्दै विधान उपलब्ध गराउन माग गरेका छन् । विधान दिन नसक्ने भए नेविसंघको वर्तमान केन्द्रीय कार्यसमिति भङ्ग गरिदिन पनि शेर्पाको आग्रह छ ।
‘हामीलाई विद्यार्थी आन्दोलनलाई अगाडि बढाउनका निम्ति, महाधिवेशनको गन्तव्य पूरा गर्न हामीले प्रस्ताव गरेको एजेन्डामा छलफल गरेर हामीलाई विधान दिनुस्,’ शेर्पा भन्छन्, ‘होइन भने हाम्रो यो केन्द्रीय कार्यसमितिलाई खारेज गरेर निकासको बाटो दिनका निम्ति पनि म अनुरोध गर्न चाहन्छु ।’