भरतपुर मुख्य बजारमा यातायात व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीद्वारा स्थलगत अनुगमन
भरतपुर, चितवन — भरतपुर महानगरपालिकाभित्र पर्ने मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले आज प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकायका प्रमुखहरूले स्थलगत अनुगमन गरेका छन्।
अनुगमनको क्रममा नारायणगढको लाइन्सचोकदेखि पुल्चोकसम्मको क्षेत्रमा सवारी चालक, व्यवसायी र सर्वसाधारणलाई ट्राफिक नियम पालनाको सचेतना दिइएको थियो। प्रमुख जिल्ला अधिकारी अर्यालले सवारीसाधन जथाभावी रोक्दा दुर्घटनाको जोखिम बढ्ने, यात्रु असहज हुने र व्यवसायीलाई असर पर्ने हुँदा सबैको दायित्वमा यातायात व्यवस्थापन पर्ने बताए।
अनुगमनका क्रममा उनले व्यवसायीलाई पसल बाहिर सामग्री राख्न नहुने, तोकिएको स्थानमा मात्रै पार्किङ गर्नुपर्ने, चालकलाई नियमअनुसार सवारी चलाउनुपर्ने र यात्रुले बाटो काट्दा सावधानी अपनाउनुपर्ने निर्देशन दिएका थिए। नियम उल्लङ्घन गरे कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिएका छन्।
डिभिजन सडक कार्यालयका प्रमुख नारायणप्रसाद लामिछानेले सडक बिग्रिएको खण्डमा तत्काल मर्मत गरिने बताए। उनले भने, “यो बजार क्षेत्र एसियाली मापदण्डअनुसारको राजमार्गअन्तर्गत पर्छ, त्यसैले सबैले ट्राफिक नियम पालन अनिवार्य छ।”
जिल्ला ट्राफिक कार्यालयका प्रमुख अनिल थापाले भने, “यातायात व्यवस्थापन समितिबाट भएका निर्णयहरू कडाइका साथ कार्यान्वयन गर्दैछौं। आजको अनुगमनलाई निरन्तरता दिँदै नियम पालन सुनिश्चित गरिनेछ।”